काठमाडौँ। प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ। संवैधानिक ब्यवस्था र संसदीय अभ्यास अनुसार प्रतिनिधि सभाको पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुने भएको हो।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक ब्यवस्था बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्। सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहूद्देश्यीय कक्षमा आज दिउँसो २ बजे बैठक बस्ने गरि तयारी गरिएको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको बताए।
संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत पहिलो बैठकका लागि सम्भावित कार्यसूची समेत सार्वजनिक गरिसकेको छ।
संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले बुधबार जारी गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा आठ वटा मुख्य एजेन्डाहरू तय गरिएका छन्। यस्तै बैठकमा विभिन्न महत्त्वपूर्ण एजेन्डाहरूमाथि पनि छलफल हुने जनाइएको छ।
बैठकको प्रारम्भमै ज्येष्ठ सांसद सदस्य वा सभामुखले सम्माननीय राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् । त्यसपछि प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी जानकारी दिइने जनाइएको छ।
सङ्घीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ।
राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपतिसमक्ष बुझाएको थियो।
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली काँग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसद निर्वाचित भएका छन्। प्रतिनिधि सभा कुल दुई सय ७५ सदस्यीय छ।



