काठमाडौं। संघीय संसद् सचिवालयले प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय दल बनेका ६ वटा राजनीतिक दललाई बैठकमा बोलाएको छ।
संसद सचिवालयले आज बुधबारका लागि राष्ट्रिय दल बनेका ६ वटा दलहरूलाई संसद बैठक संचालनका बारे छलफल गर्न भन्दै बैठकमा बोलाएको हो। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सचिवालयमा बस्दै छ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत १९ गते संघीय संसदको अधिवेशन आह्वान भएपछि त्यसको तयारीका लागि बैठक बोलाइएको संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए।
राष्ट्रपति पौडेलले सोमबार गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजे आह्वान गरेका छन्।



