मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चितवनमा बर्ड्फ्लु, १८ हजार लेयर्स कुखुरा नष्ट

चितवनमा बर्ड्फ्लु, १८ हजार लेयर्स कुखुरा नष्ट

images
२०८२ चैत्र १७ गते, मंगलवार
२०८२ चैत्र १७ गते, मंगलवार
  • चितवन। चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिका–४ स्थित एक लोकल कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको हो।

    images

    पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेले चितवनमा बर्डफ्लु पुष्टि भएको जानकारी दिए। उनका अनुसार बर्ड्फ्लुले व्यावसायिक रूपमा पालिएका कुखुरामा प्रभाव पारेको र अन्य चराचुरुङ्गीमा समेत सङ्क्रमण फैलन सक्ने जोखिम देखिएको छ।

    images

    न्यौपानेले भाइरसजन्य रोग भएकाले यसको नियन्त्रणका लागि जैविक सुरक्षा अपनाउनु अत्यन्त आवश्यक छ। घरमा वा व्यावसायिक रूपमा पालिएका हाँस तथा कुखुराको नियमित स्वास्थ्य परीक्षण, फार्मको सरसफाइ तथा आवतजावत नियन्त्रणमा विशेष ध्यान दिन किसानलाई उनले आग्रह गरे।

    बर्डफ्लु देखिएको स्थानमा सङ्क्रमण नियन्त्रणका लागि करिब १८ हजार लेयर्स कुखुरा नष्ट गरिएको छ भने नजिकैको अर्को फार्ममा करिब ९०० लोकल कुखुरा नष्ट गरिएको उनले बताए।

    “चितवनमा विसं २०७८ पछि यस वर्ष पहिलोपटक बर्ड्फ्लु देखियो, र हालसम्म अन्यत्र फैलिएको छैन।” न्यौपानेले जानकारी दिंदै भने।

    यसअघि विसं २०७८ सालमा बर्डफ्लु फैलँदा चितवनमा करिब आठ लाख कुखुरा नष्ट गरिएको उनी बताउँछन्।

    राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार हालसम्म अन्य स्थानमा बर्डफ्लु पुष्टि नभए पनि जिल्लामा जोखिम भने कायम रहेको छ।

    उनले रोग विभिन्न माध्यमबाट सजिलै सर्न सक्ने भएकाले यसको न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरे। फार्महरूबीच सामग्री तथा अन्य वस्तुको ओसारपसार गर्दा विशेष सावधानी अपनाउन तथा किसानहरू सचेत रहन आवश्यक रहेको उनको भनाइ छ।

    “हाम्रो कुखुरापालन क्षेत्रको अवस्था नेटवर्किङजस्तै रहेको छ। एउटै सवारीसाधनले विभिन्न फार्ममा अण्डा सङ्कलन तथा दाना आपूर्ति गर्ने गर्छ। यसले भाइरस सर्नसक्ने जोखिम रहन्छ।” उनले भने।

    जिल्लामा गत आर्थिक वर्षको तथ्याङ्कअनुसार करिब एक करोड आठ लाख कुखुरा रहेको पशु सेवा कार्यालयले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend