काठमाडौं। स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकहरूलाई सेवा प्रवाहमा विभेद नगर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ।
बोर्डले सोमबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूबाट बीमित सेवाग्राहीहरुलाई स्वास्थ्य बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनु पर्ने, बीमितहरुप्रति भेदभावपुर्ण ब्यवहार गरिएको तथा आवश्यक सेवा, सुविधा तथा औषधि उपलब्ध नगराइएको भन्ने सम्बन्धमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको भनेको छ।
बोर्डले त्यस्ता विभेदपूर्ण व्यवहार गरिए कानुन बमोजिम भइजाने जनाएको छ। त्यस्ता कार्य भएको पाइए बीमा ऐन (२०७४) को दफा १२ को उपदफा (१)खण्ड (क) बमोजिम कारबाही हुने बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षर गरिएको सुचनामा भनिएको छ।
पौडेलद्वारा जारी सूचनामा भनिएको छ,” यस्ता गतिविधिहरू स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ विपरीत छन्। अनुगमनका क्रममा कुनै पनि स्वास्थ्य संस्थाले नियम विपरीत कार्य गरेको प्रमाणित भएमा स्वास्थ्य बिमा ऐन, २०७४ को दफा (१२) को उपदफा (१) खण्ड (ख) बमोजिम कडा कानुनी कारबाही हुनेछ।”




