काठमाडौँ। वीर अस्पतालमा आजबाट काठमाडौँ महानगर भित्रका महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु हुँदैछ।
हरेक दिन १ सय जनादेखि १२० जनासम्मको
महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको थियो। सो सम्झौता अनुसार आजबाट परीक्षण सुरु हुने भएको हो।
तर वीर अस्पतालमा परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ। यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल स्लिप प्राप्त हुन्छ। यो स्लिपमा उल्लेख भएको मिति र समयमा गएपछि वीर अस्पतालमा थप जाँच हुनेछ।
क्यान्सरको सम्भावना समयमा थाहा पाउन सकियो भने व्यक्तिलाई बचाउन सकिने महानगरपालिकाकि कार्यवाहक प्रमुख सुनिता डंगोल बताउँछिन्। क्यान्सर नसर्ने रोगको पहिलो समस्या हो। यसकारण महानगरपालिकाले क्यान्सर नियन्त्रणका लागि परीक्षण र प्रारम्भिक उपचारका लागि सहकार्य गरिएको जनाएको छ।
कार्यवाहक प्रमुख डंगोलले, कार्यालयमा काम गर्ने, गृहिणी तथा अन्य विभिन्न पेशा व्यवसायमा काम गर्ने महिलाहरुलाई पनि परीक्षण गराउन सहज यो सम्झौता गरिएको बताइन्।
केके परीक्षण हुन्छ?
परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ। प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ।
त्यसपछि मेमोग्राफीका लागि पठाइन्छ। पाठेघरको मुखको क्यान्सर परीक्षणमा एचपीभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ। यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ।
अस्पतालका निर्देशक के भन्छन्?
अस्पतालका निर्देशक प्रा. डा. शर्माले आफुलाई लक्षण नभए पनि परीक्षण गराउन आग्रह गरे। उनले वीर अस्पतालले उच्चस्तरीय सेवा प्रदान गरेर जाँच गर्ने समेत बताए।
गएको वर्षको सिकाइबाट यस वर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना गरिएको उनको भनाइ छ।
‘उच्च स्तरीय सेवा प्रदान गर्न हामी प्रयास गर्नेछौँ,’ प्रा. डा. शर्माले भने, ‘मलाई लक्षण देखिएकै छैन, किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था विग्रिने गरेको छ, विग्रिएको यो अवस्था सुधार गर्न लक्षण नभए पनि परीक्षण गराउनु पर्छ।’
कसले परीक्षण गराउँने?
स्वास्थ्य विभागका प्रमुख दीपक कुमार के. सी. का अनुसार ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट भएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरु परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह हुन्।



