काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासले सुनुवाइ गर्दै आइतबार ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
प्रहरीले उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै सरकारी वकिल कार्यालयमार्फत निवेदन लिएर म्याद थपका लागि जिल्ला अदालत पुगेको थियो।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ मा भएको जेन-जी प्रदर्शनको विषयलाई लिएर ओली र लेखक सहित तत्कालीन केन्द्रीय सुरक्षा समितिका अधिकारीहरूलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि शनिबार प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीले उनीहरूमाथि ‘ज्यान सम्बन्धी कसुर’मा समेत अनुसन्धान गरिरहेको छ।
जिल्ला अदालतमा सुनुवाइका क्रममा ओलीलाई शिक्षण अस्पतालबाट भिडियो कन्फरेन्सको माध्यमबाट उपस्थित गराइएको थियो भने लेखकलाई प्रहरीले आदलतमै पुर्याएको थियो।



