काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र दिएको छ।
आयोगले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच बिहीबार समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित भएका ११० जना प्रतिनिधि सभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव एवम् समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले उनीहरूलाई संयुक्तरूपमा प्रमाणपत्र प्रदान गरेका हुन्।
गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न छ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका थिए। उनीहरू पाएका मतका आधारमा आयोगले उनीहरूले प्राप्त गरेको सिट बाँडफाँट गरिदिएको थियो।
समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नौ, श्रम संस्कृति पार्टीले चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट पाएका छन्।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाएको छ।



