काठमाडौं। नेकपा एमालेका प्रदेशसभा सदस्य तथा कोशी प्रदेशका पुर्व मन्त्री लिलाबल्लभ अधिकारीमाथि प्रहरीले मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान गर्ने भएको छ।
प्रहरी स्रोतका अनुसार अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ आकर्षित भएकाले सोहीबमोजिम अनुसन्धान हुने भएको हो।
उनलाई आइतबार प्रहरीले विराटनगरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो। पक्राउ गरे लगत्तै अधिकारीलाई विमानमार्फत काठमाडौं ल्याइएको थियो।
काठमाडौं ल्याइएपछि अधिकारीलाई जिल्ला अदालत काठमाडौं उपस्थित गराएर प्रहरीले हिरासतमा राख्न अनुमति लिएको हो। अदालतले अधिकारीलाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
उनीमाथि जापान जाँदा असम्बन्धित ब्यक्तिलाई आफुसँगै लगेको र मानव तस्करी गर्न खोजेको आरोप लागेको छ।
जापान जाँदा नक्कली कागजात बनाएको र आफुहरुसँग रकम लिएको जापान पुगेर फर्काइएकाहरुले प्रहरीलाई बयान दिएका छन।
कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारीले ३ जनालाई अक्कली कागजात बनाएर जापान लगेको र प्रत्येक ब्यक्तिबाट १० लाखका दरले रकम बुझेको बयानका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौँ फर्किएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको बयान दिएका छन। ती तीनै जनालाई प्रहरीले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो।
गएको १४ कार्तिकमा मन्त्रीसहित उनीहरूलाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले नेपाल डिपोर्ट गरेको थियो। प्रहरीले उनीहरुसहित ६ जनालाई लिखत किर्तेसम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।
यही प्रकरणमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार पक्राउ परेका छन्। सो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या पूर्वमन्त्री सहित ७ पुगेको छ। नक्कली कागजात बनाउन भुमिका निर्वाह गरेका गोपाल गौतमलाई भने प्रहरीले पक्राउ पुर्जी लिएर खोजी गरिरहेको छ। उनी फरार छन।



