काठमाडौं। आगामी १६ मंसिरमा हुनगइरहेको स्थानीय तह निर्वाचनका लागि सरकारले १२ करोड निकासा गरेको छ।
निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि २० करोड माग गरेकोमा अर्थ मन्त्रालयले १२ करोड उपलब्ध गराएको हो।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले स्थानीय तहको उपनिर्वाचनका लागि आयोगलाई सरकारबाट १२ करोड प्राप्त भएको जानकारी दिए।
आयोगले निर्वाचनका लागि अधिकांश तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। आयोगले मतपत्र छपाइ र ढुवानीका विषयमा भने निर्णय गर्न बाँकी रहेको जनाएको छ। सरकारले उपलब्ध गराएको रकम अपुग हुने भन्दै आयोगले थप रकमको सुनिश्चितताका लागिसमेत ताकेता गरिरहेको छ।
निर्वाचन व्यवस्थापन तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना, मतपत्र छपाई तथा ढुवानी, निर्वाचनमा खटिने कर्मचारीका लागि तलब भत्ताका लागि २० करोड हाराहारी खर्च हुने आयोगको अनुमान छ।
रकम अपुग हुने भएपछि अर्थ मन्त्रालयले थप रकम उपलब्ध गराउन सकारात्मक रहेको सन्देश आयोगलाई दिइसकेको छ।
आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि २६ कार्तिकमा अन्तिम मतदाता नामावली सूची सार्वजनिक गर्दैछ। यस्तै ३० कार्तिकमा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गर्ने तयारी रहेको छ ।
आयोगले उम्मेदवारहरूको मनोनयन दर्ता २ मंसिरमा गर्नेछ भने मतदान १६ मंसिरमा हुनेछ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ। स्थानीय तहमा विभिन्न कारणले रिक्त रहेका ४४ पदमा उपनिर्वाचन हुँदैछ।
नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख गरी कुल रिक्त ४४ पदहरूमा निर्वाचन हुन लागेको हो।



