काठमाडौं। `मानसिक स्वास्थ्य सचेतना अभियान २०८२´ को शुभारम्भ गरिएको छ।
तीन महिनासम्म संचालन हुने यो अभियानको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले शुभारम्भ गरेकी हुन्।
‘स्वस्थ मन, स्वस्थ जीवन’ ‘मनको कुरा गरौँ’ भन्ने नारासहितको यो अभियान डिसेम्बर १० देखि मार्च १४ सम्म सञ्चालन हुने छ। यो अभियान "मनको कुरा गरौं" भन्ने नारा तय गरिएको छ। अभियानमा हरेक महिनामा निश्चित विषय र त्यसैअनुसारका गतिविधिहरू केन्द्रित हुनेछन्।
अभियानको शुभारम्भ गर्दै मन्त्री गौतमले युवा तथा किशोर किशोरीहरुमा मानसिक स्वास्थ्य समस्या बढ्दो रहेको बताइन्। यो समस्यालाई नियन्त्रण गर्न सबै पक्षको भुमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
`युवा तथा किशोर किशोरीहरुमा मानसिक स्वास्थ्य समस्या बढ्दो अवस्थामा छ, यो समस्यालाई नियन्त्रण गर्न सर्वपक्षीय रुपमा कदम चाल्नु पर्छ।´ मन्त्री डा. गौतमले सम्बोधनका क्रममा भनिन्।
मन्त्री गौतमले मानसिक स्वास्थ्य सचेतना अभियान आफ्नो प्राथमिकता मध्येको विषय भएको भन्दै वजेट तथा स्रोतको कमी भएको गुनासो आएको हुँदा वजेट ब्यवस्थापनका लागि आफ्नो ध्यानाकर्षण भएको पनि बताइन्।
कार्यक्रममा मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठले घर देखिनै मानसिक स्वास्थ्यका बारे चर्चा हुनु पर्ने भन्दै संघ, प्रदेश र स्थानीय गरि तीनै तहका सरकार मिकेर मानसिक स्वास्थ्यका विषयमा सहकार्य गरेर काम गर्नु पर्ने बताए।
विभिन्न अध्ययनहरुका अनुसार नेपालमा १० जनामध्ये १ जनालाई कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिन्छ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलिया, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मानसिक स्वास्थ्य शाखा प्रमुख पोमावती थापा, सूचना केन्द्रका जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगाना लगायतले मानसिक स्वास्थ्यको अवस्था र सरकारी कदमका बारे आफ्ना धारणा राखेका थिए।



