काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले देशभरका अस्पतालमा औषधि खरिददेखि बीमा प्रणाली र सार्वजनिक खरिद लगायतका क्षेत्रमा प्रणालीगत परिवर्तन आवश्यक रहेको बताएकी छन्।
मंगलबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षणका क्रममा डा. गौतमले स्वास्थ्य क्षेत्रमा विभिन्न सुधार आवश्यकताबारे आफूले निरन्तर सुझाव र रायसल्लाह लिइरहेको बताइन्।
उनले देशभरका अस्पतालको प्रत्यक्ष अवलोकनमार्फत ती विषयमा स्वास्थ्य मन्त्रालयले सुधारको योजना अघि बढाउँने भन्दै उनले समस्या पहिचानको काम जारी रहेको बताइन्। प्राप्त सल्लाह र सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गरिने उनको भनाइ छ।
“मानसिक स्वास्थ्य, श्रमिक लक्षित कार्यक्रम, औषधि खरिद, मेडिकल ल्याब तथा सार्वजनिक खरिद प्रक्रियामा समग्र सुधार अपरिहार्य छ।” मन्त्री डा. गौतमले अघि भनिन्, `औषधि खरिददेखि वितरण, बीमा प्रणाली, प्रयोगशाला सेवा तथा सार्वजनिक खरिद सबै क्षेत्रमा प्रणालीगत परिवर्तन आवश्यक देखिएको छ।´
अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका पीर मर्का, सेवा सञ्चालनका कठिनाइ तथा व्यवस्थापनसम्बन्धी गुनासा प्रत्यक्ष सुन्न र बुझ्नकै लागि आफू बिपी प्रतिष्ठानमा आएको उनले स्पष्ट पारिन्।
“जेनजी आन्दोलनपछि बनेको सरकारले भ्रष्टाचारमुक्त प्रणाली निर्माण, पारदर्शी शासन र स्वास्थ्यसहित सम्पूर्ण सेवा क्षेत्रलाई व्यवस्थित बनाउनु नै प्रमुख लक्ष्य लिएको छ।” उनको भनाइ थियो।
काठमाडौँ, लुम्बिनीलगायतका सङ्घीय अस्पतालहरूको अवस्थाबारे निरन्तर निरीक्षण गर्दै सेवा प्रवाहको गुणस्तर, पर्खाइ समय, क्लिनिक सञ्चालन र सर्वसाधारणले भोग्दै आएको सहजता असहजतासहितका समस्याहरूलाई नजिकबाट अध्ययन गरिरहेको उनले बताइन्।
मन्त्री गौतमले छिट्टै बस्न लागेको बिपी प्रतिष्ठानको सिनेट बैठकका तयारीका विषयमा समेत प्रत्यक्ष जानकारी आवश्यक भएकाले आफू निरीक्षणका लागि आएको बताउँदै आफ्नै आँखाले वास्तविक अवस्था हेरेपछि निर्णय गर्नु सजिलो हुने उल्लेख गरिन्।



