सर्लाही। सर्लाहीको बरहथवा बजारमा रहेको एक किराना पसलमा भीषण आगलागी भएको छ।
शुक्रबार रातिदेखि लागेको आगो शनिबार बिहान मात्रै नियन्त्रणमा आएको छ। बरहथवा नगरपालिका–७ स्थित किसुन दासको घरमा नरेश साहद्वारा सञ्चालित होलसेल किराना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाका अनुसार आगलागीबाट विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमासमेत क्षती पुगेको छ।
आगलागीबाट करिब तीन करोड मूल्य बराबरको क्षती भएको अनुमान छ। होलसेल किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको अनुमान प्रहरीको छ।
आगलागीको सुचना पाएदेखिनै नियन्त्रणको प्रयास भएपनि शनिबार बिहान मात्रै आगो नियन्त्रणमा आएको हो। शुक्रबार राती साँढे ११ बजेतिरबाट आगलागी सुरुभएकोम शनिबार बिहान करिब २ बजे आगो नियन्त्रणमा आएको थियो।
सुरक्षाकर्मी, स्थानीय र हरिवन नगरपालिकाको बारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। आगलागीको के कारणबाट भयो भन्ने खुल्न सकेको छैन।



