काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानलाई सही मार्गमा ल्याउने एक मात्र बाटो फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन रहेको र त्यसमा कांग्रेस स्पष्ट रहेको प्रष्ट पारेका छन्।
आज (सोमबार) बिहानै सामाजिक संजाल फेसबुक मार्फत उनले फागुन २१ को निर्वाचनबाट नै देशमा नयाँ संसद आउनेमा कांग्रेस प्रष्ट रहेको र यसमा अलमलिनु जरुरी नभएको बताए।
`फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन।´ कांग्रेस महामन्त्री थापाले लेखेका छन्।
उनले कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको पनि भनेका छन्। यस्तै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि सोही निर्णय रहेको उनले प्रष्ट्याएका छन्।
`नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन। यस सन्दर्भमा हामी स्पष्ट छौँ।´ उनले भनेका छन्।
यसैगरी थापाले आगामी निर्वाचन अघिनै कांग्रेसको महाधिवेशन हुनु पर्ने पनि स्पष्ट पारेका छन्।
`निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो।
अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन।, नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ।´



