काठमाडौं। सरकारले आज बिहीबार र भोलि शुक्रबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ।
राष्ट्रिय भिटामिन `ए´ कार्यक्रम अन्तर्गत हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते सरकारले नेपालमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ। तर, यस वर्ष कात्तिक २ र ३ गते तिहार पर्व परेकाले कात्तिक २० र २१ गतेका लागि सारिएको थियो।
आज र भोलि देशका ७५३ वटै स्थानीय तहका पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ।
६ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि पनि खुवाइन्छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको जानकारी दिए।
यो कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।



