काठमाडौं। भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न बनेको आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धान र कारबाही गर्न आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ।
'फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ।' जाँचबुझ आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आयोगले गृह मन्त्रालयले २०८२ असोज ९ गते जारी गरेको विज्ञप्तिमा ध्यानाकर्षण भएको बताएको छ। गृह मन्त्रालयले विज्ञप्तिमा घटनामा संलग्नमाथि आयोगको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा छानबिन प्रक्रिया अघि बढाउने उल्लेख गरेको थियो।
आयोगले अगाडि भनेको छ, `यस आयोगलाई भौतिक एवम् मानवीय क्षतीसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश रहेको हुँदा आयोगबाट सो कार्यादेश बमोजिम राय सहितका प्रतिवेदन प्राप्त भए पश्चात् नेपाल सरकारले कानुन बमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट मिति २०८२/०६/०९ गते जारी विज्ञप्ति प्रति आयोगको ध्यानाकर्षण भएको छ।´




