काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा यतिखेर प्रहरीले सुरक्षा कडा बनाइएको छ।
जेन-जी समूहकाे प्रदर्शन बढ्नसक्ने भन्दै मुख्य चाेक र सरकारी कार्यालय अगाडि प्रहरीको बाक्लो तैनाथी गरिएकाे हाे।
पूर्व प्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न जेन-जी समूहले दबाव दिइरहेका छन्।
साथै अख्तियार दुरुपयोग अनुसन्धान आयाेगका प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्तहरुलाई पदबाट हटाईनुपर्ने उनीहरुकाे माग छ।
जेन-जी समुहका प्रदर्शनकारीहरुले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय अगाडि भेला भएर प्रदर्शन गरिरहेका छन्। अख्तियार अगाडि अहिले प्रहरीको कमाण्डो फोर्स परिचालन गरिएको छ।
यस्तै जेन-जी समूहले मंगलबार माइतीघर मण्डलामा ओली र लेखकसहित आरजु राणा देउवा, माधव कुमार नेपाल, महेश बस्नेत लगायतका फोटो राखेर उनीहरुमाथि कारबाहीको माग गरेका छन्।
जेन-जी समूहकाे फेरि सडकबाटै उठ्ने धम्कीपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएकाे हाे। ओली र लेखकको पक्राउ प्रक्रियाबारे प्रधानमन्त्री शुसिला कार्की तथा सुरक्षा निकायका प्रमुखसहितकाे टाेली यतिखेर छलफलमा छ।



