सुनसरी। नेपाली सेनाले हेलिकप्टरबाट चार जना सुत्केरीको उद्धार गरेको छ।
सेनाले आज सोमबार हवाई उद्धार कार्यक्रम अन्तर्गत इलाम, पाँचथर र संखुवासभामा गरी चार जना सुत्केरीको उद्धार गरेको हो।
उद्धार गरिएका सुत्केरीहरु इलाम माइजोगमाई गाउपालिका ५ शिरसिरे, सन्दकपुर १ छाँगे, पाँचथर फिदिम नगरपालिका १२ पुल भञ्याङ्ग र संखुवासभा जिल्ला भोटखोला गाउँपालिका वडा नं.३ हुङगुङका हुन्।
उनीहरूलाई उद्धार गरेर बि.एण्ड.सि. अस्पताल झापा र कोशी प्रादेशिक अस्पताल विराटनगर पुर्याइएको छ।
सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्धार कार्यक्रम संचालन गर्दै आएको छ। सोही कार्यक्रममा सेनाले सहयोग गर्दै आइरहेको छ।



