इलाम। लगातारको अविरल वर्षापछि इलामका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर १८ जनाको मृत्युु भएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दीपक पोखरेलले इलाममा बाढी तथा पहिरोमा परेर १८ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए।
उनका अनुसार सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ। यस्तै माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३, देउमाई नगरपालिका–५ धारेमा १ र सोही वडाको धुसुनेमा २ जनाको मृत्यु भएको छ।
यसैगरी फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ र इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
हाल इलामका पहिरो र बाढी प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि सुरक्षित स्थानमा पुर्याइएको र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले अझै केही दिनसम्म मध्यमदेखि भारी वर्षा जारी रहने सम्भावना जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। यो सम्भावना कोशी र मधेस प्रदेशमा अझै बढी छ।



