काठमाडौं। काठमाडौं महानगरपालिकामा गएको वर्षको पुस यता हालसम्म २४८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
नेपालमा २०६१ सालदेखि डेंगीको समस्या देखिन थालेको थियो। कामनपाभित्र सन् २०२२ मा दुई हजार ९७३ जनामा डेंगी सङ्क्रमण देखिएको थियो। यस्तै सन् २०२३ मा ६४३ जनामा, २०२४ मा २ हजार ८४ जनामा र यस वर्षको पुसदेखि अहिलेसम्म २४८ जनामा सङ्क्रमण देखिएको महानगरपालिकाले जनाएको हो।
काठमाडौँ महानगरपालिकाले अझै पनि लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको सङ्क्रमण कायमै रहेकाले सचेत रहन नगरवासीमा आग्रह गरेको छ।
डेंगी रोगको सङ्क्रमण कायमै रहेकाले उक्त रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने काम जोडतोडका साथ भइरहेको महानगरपालिकाले स्पष्ट पार्दै सचेत रहन पनि सबैमा आग्रह गरेको हो।
महानगरपालिकाले मातहतका सबै वडा र समुदायस्तरमा सञ्चालित लामखुट्टे तथा लार्भा नष्ट गर्ने काममा सम्बद्ध स्वास्थ्यकर्मी र महिला स्वयमसेविकासहित स्थानीयसवासीको समेत सहभागिता रहेको कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकल पर्सन’ ऋषिप्रसाद भुषालले जानकारी दिए।
उनका अनुसार गत वर्षहरूका सङ्क्रमणको विश्लेषणका आधारमा डेंगीको सङ्क्रमण दर घटबढ हुने गरेको अवस्थालाई दृष्टिगत गरी नगरवासीको मृत्युदर न्यूनीकरण तथा नियन्त्रणका पक्षमा अधिकतम प्रयास भइरहेको छ।
कामनपामा पहिलो पटक २०७५ सालमा चमती क्षेत्रमा एकजना महिलामा यो सङ्क्रमण देखिएको थियो। सामान्यतया बर्खायाममा देखिने यो रोगको सङ्क्रमण दर भदौ, असोज र कात्तिक महिनामा बढी देखिने गरेको कामनपाले जनाएको छ।
डेंगी सङ्क्रमण फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्छ। पानी जम्ने सडक तथा सडकपेटीका खाल्टाखुल्टी, करेसाबारीमा राखिने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसीलगायतका स्थानमा लामखुट्टेको बासस्थान हुने भएकाले त्यसतर्फ सावधानी अपनाइ डेंगी सङ्क्रमणबाट जोगिन सबैसँग अनुरोध गरिएको छ
आम नागरिकका स्वास्थ्यसम्बन्धी गुनासा, जिज्ञासा सुन्न र प्रारम्भिक परामर्शका लागि काठमाडौँ महानगरपालिकाले ११८० नम्बरको टेलिफोन निःशुल्क रुपमा सञ्चालनमा ल्याउँदै आएको छ।



