काठमाडौं। गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई विदेश भ्रमण गर्न रोक लगाएको छ।
आयोगको आइतबार बसेको बैठकले पुर्वप्रधानमन्त्री ओली, पुर्व गृहमन्त्री लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो।
आयोगले उनीहरू पाँचैजना अनुसन्धानको दायरामा रहेको जनाउँदै छानबिनका लागि कुनैपनि समयमा आयोगमा उपस्थित हुन पर्ने भन्दै स्वीकृति बेगर काठमाडौं उपत्यकासमेत नछाड्न भनेको छ।
आयोगद्वारा जारी विज्ञाप्तिमा भनिएको छ, “भाद्र २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने।”
आयोगले गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्न बनेको जाँचबुझ आयोगको काम प्रभावकारी रूपमा सम्पादन गर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ।




