काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बडा दशैं, नेपालसंवत, तिहार तथा छठको बिदामा पनि नियमित रुपमा प्रदान गरिंदै आइएको सेवालाई नरोकी आशिंक रुपमा प्रदान गर्न आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि बनेको विषम परिस्थिति तथा दशै, तिहार तथा छठ पर्वमा लामो बिदा हुने भएकाले अस्पतालहरुमा लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन, नियमित सेवालाई आशिंक रुपमा जारी राख्न अस्पतालहरुलाई आग्रह गरेको हो।
शुक्रबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा `नजिकै आइरहेको बडादशैं, नेपाल संवत, तिहार, छठ पर्वको समयमा लामो बिदा हुने भएकाले विरामीहरुलाई लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन उपलब्ध जनशक्ति र स्रोत साधनलाई व्यवस्थित तथा प्रभावकारी रुपले उपयोग गरी आ–आफ्नो स्वास्थ्य संस्थाबाट नियमित रुपमा दिइने सेवाहरू उक्त बिदाका दिनहरुमा समेत आंशिक रुपमा संचालन गर्नुहुन र अत्यावश्यक सेवा, Emergency, Operation जस्ता सेवाहरू सदाझैं यथावत रुपमा संचालन गर्न गराउनहुन अनुरोध छ।´ भनिएको छ।
मन्त्रालयले प्रदर्शनको क्रममा घाइते भई उपचाररत रहेका सबैको सिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ। सो विषय परिस्थितिमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पतालहरू र अन्य सबै स्वास्थ्य संस्थाहरुले दिएको सेवाका लागि धन्यवाद व्यक्त गर्दै थप आवश्यक सेवा पनि निरन्तर दिन भनेको छ।




