काठमाडौ। गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौंमा गोली हान्ने आदेश दिएको आरोप लागेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको सरुवा भएको छ।
बुधबार गृहमन्त्रीस्तरीय बैठकमार्फत रिजालको गृह मन्त्रालयमा सरुवा गरिएको हो। गृह मन्त्रालयले उनको ठाउँमा ईश्वरराज पौडेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहित पठाएको छ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले रिजाललाई मन्त्रालयमा तानिएको पुष्टि गर्दै उनको ठाउँमा पौडेललाई पठाइएको जानकारी दिए।
सो आन्दोलनमा काठमाडौंमा एकैदिन ३० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको थियो भने काठमाडौको सुरक्षा ब्यवस्था अस्तब्यस्त बनेको थियो। त्यसयता रिजाल खुलेका छैनन्। उनको फोटोसमेत जिल्ला प्रसाशन कार्यालयले वेवसाइटबाट हटाएको थियो।



