चितवन। चितवनका जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ।
चितवनका विभिन्न अस्पतालहरुमा उपचारका लागि आएकामध्ये चालु आर्थिक वर्षको साउनयता उनीहरूमा औलो रोगको सङ्क्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए।
औलोको सङ्क्रमण देखिएकामा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिका र एक जना राप्ती नगरपालिकाका स्थानीय छन्।
रुपाखेतीका अनुसार सङ्क्रमित ३४ देखि ४४ वर्ष उमेर समूहका छन्। विभिन्न देशमा र नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएकामा यो रोगको सङ्क्रमण देखिएको उनी बताउँछन्।
`भारतबाट आएका चार जना, दक्षिण कोरियाबाट फर्किएका एक र सुनसरीबाट फर्किएका एक जनामा औलो रोगको सङ्क्रमण देखिएको हो।” प्रमुख रुपाखेतीले भने।
जिल्लामा गत आर्थिक वर्षमा भने १० जनामा औलो रोगको सङ्क्रमण देखिएको थियो। विगत चार वर्षदेखि जिल्लामा नै रहेका व्यक्तिमा यो रोगको सङ्क्रमण नदेखिएको उनी बताउँछन्। औलो रोग पोथी लामखुट्टेले टोक्दा सर्ने रोग हो।



