काठमाडौं। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम आज ३ बजे हुने भएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासले दिउँसो ३ बजेका लागि सपथ तय भएको जानकारी दिएको हो।
मन्त्रीपरिषद् विस्तारका लागि प्रधानमन्त्री शुशिला कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच जनाको नाम मन्त्रीका लागि सिफारिस गरेकी थिइन्। यसअघि तीन जना कार्की क्याबिनेटमा मन्त्री बनिसकेका छन्।
प्रधानमन्त्री कार्कीले भने पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रा, महावीर पुन र डा. मदन परियारको नाम मन्त्रीका लागि सिफारिस गरेकी छन्। मिश्राले आइतबार मात्रै अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्।
राष्ट्रपति कार्यालयका एक उच्च तहका एक कर्मचारीका अनुसार प्रधानमन्त्रीले पठाएको केही मन्त्रीको नाम अझै फेरबदल हुन सक्ने सम्भावना छ।
प्रधानमन्त्री कार्कीले मन्त्री सिफारिस गर्दा सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिनेगरी सिफारिस गरेकी छन्।
प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि, मिश्रालाई स्वास्थ्य तथा जनसंख्या, मदन परियारलाई कृषि र खरेललाई संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिनेगरी सिफारिस गरेको बताइन्छ। यी नाममध्ये मिश्राको नाममा विवाद देखिएको छ। उनको नाम फिर्ता लिन प्रधानमन्त्रीमाथि दबाब बढेको छ।



