काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाको ब्यारेकबाट १० औं दिनमा भाडाको घरमा सरेका छन्।
ओलीका लागि भक्तपुरको गुण्डुमा भाडामा बस्ने गरि घर लिइएको हो। गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा भएको प्रदर्शनपछि राजीनामा दिएपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई सेनाले बालुवाटारबाटै हेलिकप्टरमा सुरक्षित स्थानमा सारेको थियो।
ओली सेनाको ब्यारेक भित्रको सुरक्षा घेराबाट १० औं दिनमा सूर्यविनायक नगरपालिका–७ गुण्डुमा भाडाको घरमा सरेका हुन्। उनको बालकोटस्थित निवास जेन-जी प्रदर्शनका क्रममा आगजनी भएको थियो।
बिहीबार एमाले अध्यक्ष ओलीलाई गुन्डुस्थित निवासमा एमालेका महासचिव शङ्कर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालगायतले भेट गरेका थिए।



