काठमाडौं। भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएका १५३ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्।
घाइतेमध्ये ७४ जनाको अहिलेसम्म मृत्यु भएको प्रहरीको तथ्यांक छ। अझै २९ अस्पतालमा १५३ जनाको उपचार जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार घाइतेमध्ये २८ जनाको हाल ट्रमा सेन्टरमा उपचार हुँदैछ भने १७ जना त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
यसैगरी १४ जनाको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ भने १२ जनाको नेपाल प्रहरी अस्पतालमा तथा ८ जनाको चितवन मेडिकल कलेजमा उपचार जारी छ।
यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ जनाको उपचार जारी छ भने विराटनगरको नोबल मेडिकल कलेजमा ६ र गण्डकी मेडिकल कलेजमा ७ जनाको उपचार भइरहेको छ।
मन्त्रालयको तथ्यांकअनुसार आन्दोलनका क्रममा हालसम्म ६१ जना सर्वसाधारण, १० जना कैदीवन्दी र ३ जना प्रहरी गरी कुल ७४ जनाको ज्यान गएको छ।



