काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपालीलाई समानुपातिक प्रणाली अन्तर्गत मात्रै भए पनि मतदान गर्ने ब्यवस्था मिलाउने बताएका छन्।
बिहीबार निर्वाचन आयोग पुगेका गृहमन्त्री अर्यालले सर्वोच्च अदालतले आदेश दिएको धेरै समय हुँदा पनि विदेशमा बस्ने नेपालीले मतदानबाट बन्चित हुनुपरेको बताए। उनले सरकारले आगामी प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा भएपनि मतदान गर्न पाउने व्यवस्था मिलाउने बताएका हुन्।
‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भए पनि मतदान गर्न पाउनु पर्छ भन्ने छ, त्यसबारे सर्वोच्चले आदेश दिएको पनि धेरै भयो, यसलाई सम्भव बनाउनैपर्छ,’ गृहमन्त्री अर्यालले भने।
उनले निर्वाचन आयोगले यसको गाँठो फुकाउनुपर्ने र त्यसका लागि सरकारले गर्नु पर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
अर्यालले सबै देशमा प्राविधिक रूपमा सम्भव नभए जहाँजहाँ सकिन्छ त्यही देशमा मात्रै भएपनि सुरुवात गर्न आफू प्रतिबद्ध रहेको बताए। यस्तै सम्भव नभएका देशमा राजदुतावासमार्फत पनि आवश्यक प्रयास गर्न सकिने उनले बताएका हुन्।
गृहमन्त्री अर्यालले आगामी निर्वाचनमार्फत मतपत्रमा नो भोटको पनि ब्यवस्था गरिने बताए।



