काठमाडौं। भदौ २४ गते भएको जेन-जी युवाहरूको आक्रमण र आगजनीपछि स्वास्थ्य मन्त्रालय भग्नावशेषमा परिणत भएको छ। मन्त्रालयमा के कति क्षती भयो भन्ने अनुमान गर्न सकिएको छैन।
हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पुरानो भवनमा रहेको केही कोठा लिएर स्वास्थ्य मन्त्रालयको कामचलाउ काम सुरु गरिएको छ। सो भवन स्वास्थ्य मन्त्रालयको पछिल्लो भागमा छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयको कामचलाउ काम स्वास्थ्य अनुसन्धान परिषद्को पुरानो भवनको केही कोठा लिएर सुरु गरिएको जानकारी दिए।
`मन्त्रालयको काम स्वास्थ्य अनुसन्धान परिषद्को पुरानो भवनको केही कोठा लिएर सुरु गरेका छौं, सबै महत्त्वपूर्ण कागजात जलेर नष्ट भएकाले काम गर्न सहज छैन, अहिले क्षतीको विवरण संकलन गर्ने काम भइरहेको छ, यस्तै कर्मचारीका इमेलमा रहेका डकुमेन्ट र कर्मचारीले सम्झन सक्नेजति डाटाको विवरण संकलन हुँदैछ।´ मन्त्रालयका प्रवक्ता बुढाथोकीले एक्सरे नेपालसँग भने।
डा बुढाथोकीका अनुसार मन्त्रालयको मुख्य भवनसहित सबै संरचना आगलागीका कारण ध्वस्त छ। कुनै पनि कागजात काम लाग्ने अवस्थामा छैनन् भने आगजनी भएका कुनै पनि कोठा प्रयोग गर्न सकिने अवस्थामा छैन।
`कुनै पनि कोठा प्रयोग गर्न सकिने अवस्थामा छैन, देशका अन्य भागमा रहेका मन्त्रालय मातहतका कार्यालयहरुमा पनि क्षतीको विवरण संकलन हुँदैछ, एक साता भित्रमा देशभरको क्षतीको अवस्था संकलन हुन्छ।´ प्रवक्ता डा. बुढाथोकीले भने।
स्वास्थ्य मन्त्रालयको भवनको पुनर्निर्माणका लागि विश्व स्वास्थ्य संगठन जस्ता निकायलेसमेत चासो राखेका छन्। यस्तै अन्य अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरुलेसमेत स्वास्थ्य मन्त्रालयको पुनर्निर्माणमा चासो राखेका छन्।



