काठमाडौं। आज विहानैदेखि देशभर साधारणतया बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
आज बिहानको मापन अनुसार कोशी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको र नारायणी नदीका सहायक नदीहरूको बहाव सतर्कता आसपास रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज चितवन, स्याङ्जा, गुल्मी, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, डडेलधुरा, बझाङ, डोटी, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
साथै ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, पर्वत, बागलुङ, तनहुँ, कास्की, गुल्मी, रुकुम पूर्व, सुर्खेत, बैतडी, कैलाली र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।



