काठमाडौं। चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै आइरहेका अभियनता डा. गोबिन्द केसीले नयाँ सरकारको मन्त्री छनौटका लागि भइरहेको अनलाइन भोटिङबाट आफ्नो नाम हटाउन आग्रह गरेका छन्।
डा. केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री छनौटका लागि अनलाइन भोटिङमा आफ्नो नाम राखिएको प्रति असन्तुष्टि जनाउँदै हटाइदिन भनेका हुन्।
`कुनै पनि पद तथा ओहोदामा मेरो न पहिला आकांक्षा थियो, न अहिले छ र न भविष्यमा नै हुनेछ। तसर्थ मेरो नाम मन्त्री परिषदको सदस्यका लागि भइरहेको अनलाइन भोटिङबाट हटाउन सम्बन्धित पक्ष लगायत सबैलाई अनुरोध गर्दछु।´ डा. केसीले भनेका छन्।
उनले देशमा व्याप्त बेथितिको मारले विक्षिप्त नव-युवा पुस्ताबाट नागरिक अधिकारका लागि स्वत:स्फूर्तरूपमा उठेका आवाजप्रति आफ्नो पूर्ण समानुभूति र ऐक्यबद्धता छ भन्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
डा. केसीले नव युवा पुस्ताको आन्दोलनको समाप्तिपछि गठन भएको अन्तरिम सरकारमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिले यस संक्रमणकाललाई तार्किक निष्कर्षमा पुऱ्याउने अपेक्षा लिएकोसमेत भनेका छन्।
यस्तो छ डा केसीको विज्ञप्ति
प्रेस विज्ञप्ति
नव युवा पुस्ताको आन्दोलनको समाप्तिपछि गठन भएको अन्तरिम सरकारमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिले यस संक्रमणकाललाई तार्किक निष्कर्षमा पुऱ्याउने अपेक्षा लिएको छु। त्यस सरकारमा अन्य मन्त्रीहरू छान्न केही समूहले अनलाइन मतदान गरिरहेको भन्ने मेरो जानकारीमा आएको छ। कुनै पनि पद तथा ओहोदामा मेरो न पहिला आकांक्षा थियो, न अहिले छ र न भविष्यमा नै हुनेछ। तसर्थ मेरो नाम मन्त्री परिषदको सदस्यका लागि भइरहेको अनलाइन भोटिङबाट हटाउन सम्बन्धित पक्ष लगायत सबैलाई अनुरोध गर्दछु।
सुझबुझका साथ नव नियुक्त प्रधानमन्त्रीले योग्य व्यक्तिहरूको चयन गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु।
म आफैँ विगत लामो समयदेखि आम नेपालीको हकहित र विधिको शासनका लागि लड्दै आएको परिप्रेक्ष्यमा देशमा व्याप्त बेथितिको मारले विक्षिप्त नव-युवा पुस्ताबाट नागरिक अधिकारका लागि स्वत:स्फूर्तरूपमा उठेका आवाजप्रति मेरो पूर्ण समानुभूति र ऐक्यबद्धता छ भन्ने प्रतिबद्ता पुन:
दोहोऱ्याउँछु।
अन्त्यमा, अन्तरिम सरकारलाई म तथा यस अभियानमा सहभागी व्यक्तिहरूको सहयोग रहनेछ भन्ने कुरा पनि व्यक्त गर्दछु।
डा.गोविन्द केसी
२९ भदौ २०८२
काठमाडौं।



