काठमाडौं। जेन-जी आन्दोलनका क्रममा गत सोमबार र मंगलबार देशका विभिन्न स्थानमा घाइते भएका मध्ये ३० जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा बुधबार साँझसम्मको विवरण अनुसार ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको हो।
मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र १ हजार ६१ जनाको उपचार भएको छ। उनले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरिएको बताए।
जसअनुसार निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १ जना, फ्रन्टलाइन अस्पतालमा ३ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २ जना र भेरी अस्पतलालमा ५ गरी ३० जनाको निधन भएको मन्त्रालयको तथ्यांक छ।
यस्तै अहिले २७४ जना घाइतेको विभिन्न अस्पतालमा भर्ना भई उपचार भइरहेको छ। यस्तै ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गरिएको छ भने ७१९ जना उपचारपश्चात् घर फर्किएका छन्।
स्वास्थ्य सचिव डा देवकोटाका अनुसार हाल निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार जारी छ।
तथ्यांक अनुसार सबैभन्दा धेरै ४३६ जनाको निजामती कर्मचारी अस्पतालमा उपचार भएको थियो। यस्तै ट्रमा सेन्टरमा १६१ र एभरेष्ट अस्पतालमा १०९ जनाको घाइतेको उपचार भएको थियो।



