काठमाडौं। देशभर डेंगी संक्रमितको संख्या ४ हजार नजिक पुगेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार पछिल्लो जनवरीयता ३ हजार ८११ जनामा डेंगी संक्रमण पुष्टी भएको छ। यही अवधिमा २ जनाको डेंगीका कारण मृत्यु भएको छ।
ईडीसीडीका अनुसार अगस्तमा १ हजार ११२ जना संक्रमित भएका थिए भने सेप्टेम्बरका दुई दिनमा मात्रै ४७ जना थपिएका छन्।
यसैगरी ७४ जिल्लामा संक्रमण फैलिएकोमा सबैभन्दा धेरै संक्रमित कास्की र काठमाडौंमा देखिएका छन्। यी दुबै जिल्लामा हालसम्म ३६२ जनामा डेंगी पुष्टी भएको छ।
यस्तै पाल्पामा २३६ जना डेंगी संक्रमित छन्। यीबाहेक अन्य जिल्लामा दुईसयभन्दा कम संख्यामा डेंगी देखिएको छ।
मनाङ डोल्पा र हुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको छ। यो विभिन्न अस्पतालबाट सरकारको अर्लि वानिर्ङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) मा रिपोटिङ भएको तथ्यांक हो।
तर समुदायमा योभन्दा दसौँ गुणा बढी संक्रमित रहेको हुनसक्ने ईडीसीडीको प्रक्षेपण छ।



