बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दुई अस्पतालका विशेष मनोचिकित्सा इकाई सरकारी व्यवस्थापनमा हस्तान्तरण हुने

दुई अस्पतालका विशेष मनोचिकित्सा इकाई सरकारी व्यवस्थापनमा हस्तान्तरण हुने

images
२०८२ भाद्र १८ गते, बुधवार
२०८२ भाद्र १८ गते, बुधवार
  • काठमाडौं। बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवालाई दिगो र प्रभावकारी बनाउने उद्देश्यले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सिविन नेपालबीच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ।

    images

    सम्झौतासँगै कान्ति बाल अस्पताल र मानसिक अस्पताल, लगनखेलमा सञ्चालित विशेष मनोचिकित्सा इकाईहरू क्रमशः सरकारी व्यवस्थापनमा हस्तान्तरण हुने भएका छन्।

    images

    सिविन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१५ को विनाशकारी भूकम्पपछि बालबालिका र किशोरकिशोरीमा देखिएको मनोसामाजिक असरलाई सम्बोधन गर्न यी सेवाहरू सुरु गरिएका थिए।

    विगत नौ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएका यी स्वास्थ्य सेवाहरूको दिगोपना सुनिश्चित गर्न अब सरकारले पूर्ण स्वामित्व लिने प्रक्रिया अघि बढाएको हो।

    समझदारी-पत्रमा हस्तान्तरणको स्पष्ट कार्ययोजना उल्लेख गरिएको छ। जसअनुसार, सन् २०२६ सम्ममा सिविन नेपालले हालकै मोडेलअनुसार सेवा सञ्चालनको सम्पूर्ण आर्थिक तथा प्राविधिक जिम्मेवारी लिनेछ।

    सन् २०२६ देखि २०२८ सम्ममा सरकारले क्रमशः आफ्नो बजेट विनियोजन बढाउँदै लैजाने छ र सन् २०२८ पछि दुवै इकाईहरूको सञ्चालन, व्यवस्थापन र आर्थिक भार पूर्ण रूपमा नेपाल सरकार र सम्बन्धित अस्पतालहरूको मातहतमा आउनेछ।

    हस्ताक्षर कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख भीमप्रसाद सापकोटाले बालबालिकाको मानसिक स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको अभिन्न अंग बनाउनु सरकारको प्राथमिकता रहेको बताए।

    त्यसैगरी, सिविन नेपालका प्रतिनिधिले सरकारले यस सेवाको स्वामित्व लिनुले हजारौँ बालबालिकाको मानसिक स्वास्थ्य सेवाको भविष्य सुनिश्चित भएकोमा खुसी व्यक्त गरे।

    यस सम्झौताले नेपालमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य जस्तो संवेदनशील र महत्त्वपूर्ण विषयलाई सरकारको प्राथमिकतामा राखी सेवाको पहुँचलाई देशव्यापी बनाउन सहज हुने मन्त्रालयको विश्वास छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend