काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल, बलम्बुमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन हस्तान्तरण गर्दै क्षयरोग उपचार सेवा औपचारिक रूपमा सुरु गरेको छ।
अस्पतालमा सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उक्त मेसिन हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेका हुन्।
उनले क्षयरोगमुक्त नेपाल निर्माणका लागि मन्त्रालय निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, “क्षयरोगको छिटो निदानमार्फत हजारौँ नागरिकको जीवन बचाउन मन्त्रालय निरन्तर कार्यरत छ।”
यसअघि सो अस्पतालमा क्षयरोग परीक्षण सुविधा नहुँदा बिरामीहरूले अन्यत्र जानुपर्ने बाध्यता थियो। नयाँ सेवाले सशस्त्र प्रहरीका कर्मचारी, उनका परिवार तथा सर्वसाधारण नागरिकलाई छिटो र भरपर्दो परीक्षण सुविधा दिने भएको छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीका अनुसार अस्पतालमा जडान भएको मोलिक्युलर टेस्ट मेसिनले अब बिरामीलाई दुई घण्टामै क्षयरोगको रिपोर्ट उपलब्ध गराउनेछ।
करिब ५० लाख रुपैयाँको लागतमा खरिद गरिएको उक्त मेसिन मन्त्रालयले अस्पताललाई हस्तान्तरण गरेको हो। हालसम्म देशका १२८ स्वास्थ्य संस्था तथा अस्पतालहरूमा यस्ता सेवाहरू उपलब्ध रहेको र सशस्त्र प्रहरी अस्पतालमा यसको विस्तारले राष्ट्रिय क्षयरोग नियन्त्रण अभियानलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।



