काठमाडौं। निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षा विधेयक विरुद्ध आजपनि आन्दाेलन जारी राखेका छन्।
काठमाडौंको चक्रपथ वरीपरी स्कुल बस र्याली निकालेर उनीहरुले विराेध जनाएका छन्।
निजी विद्यालयहरुका छाता संगठनहरु प्याब्सन, हिसान, एन व्याब्सन लगायतका ५ संगठन विगत दुई सातायता सडक आन्दाेलनमा छन्।
विद्यालय शिक्षा विधेयकमा रहेको पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्रीहरु पोशाक, स्टेशनरी, शैक्षिक सामग्री तथा खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने उनीहरुको माग छ।
यस्तै कम्पनी ऐनअनुसार सञ्चालनमा रहेका विद्यालयहरूलाई गैर नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाउनुपर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा नै हुनुपर्ने र पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गर्नुपर्ने माग राखिएको छ।
त्यसैगरी छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क) नियमावली, २०६० को नियम १० (क) मा रहेको ४५ प्रतिशत आरक्षण छात्रवृत्तिसम्बन्धि व्यवस्था र २०७७ को संशोधन ऐनको प्रावधान अनुसारको कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले उच्च शिक्षामा सीटीइभीटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्था खारेज गरिनुपर्ने उनीहरुको माग छ।
आफ्ना मागहरुमाथि सम्बाेधन नभए भदाै १८ गतेदेखि पठनपाठन ठप्प पार्ने निजी विद्यालय सम्वद्द ५ संगठनकाे चेतावनी छ।



