दाङ। नेपाललाई अध्यात्म र योग विज्ञानको उद्गमस्थलका रुपमा विश्वभर चिनाउन तथा विश्व शान्ति र मानव कल्याणका लागि दाङमा अन्तर्राष्ट्रिय योग सम्मेलन २०८२ हुने भएको छ।
दाङको बेलझुण्डीमा आगामी असोज २५ गतेदेखि असोज २७ गतेसम्म नेपाल संस्कृत विश्वविद्यालयको आयोजनामा अन्तर्राष्ट्रिय योग सम्मेलन हुने भएको हो।
सम्मेलनमा भारत, अमेरिकालगायतका ५० देशका पाँच हजारभन्दा बढी योग साधकहरु सहभागी हुँँदै छन्।
अन्तर्राष्ट्रिय योग सम्मेलन मूल आयोजक समितिका संयोजक तथा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्राडा. सुधनकुमार पौडेलले सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिए। प्रधानमन्त्री नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका कुलपति समेत हुन्।
अन्तर्राष्ट्रिय योग सम्मेलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त विद्धान, विदुषी, योगसाधक, आध्यात्मिक चिन्तक, अनुसन्धाता र प्राज्ञिक व्यक्तित्वहरुबाट योगदर्शनका शास्त्रीय तथा आधुनिक विषयवस्तुसँग सम्वन्धित ३० भन्दा बढी अनुसन्धानमुलक कार्यपत्र प्रस्तुत हुनेछ।
सम्मेलनमा एक हजार जनाले सामूहिक योगाभ्यास गर्ने कार्यक्रम समेत रहेको मूल आयोजक समितिका संयोजक पौडेलले जानकारी दिए।
बिश्व शान्ति र मानव कल्याणका लागि योग सम्पदाको पुनरुत्थान एवं विश्वव्यापीकरण गर्ने लक्ष्यका साथ योग सम्मेलन गर्न थालिएको हो।
सम्मेलनमा शास्त्रीय विधिपूर्वक रुद्रयाग, अग्निपूजन, गायत्री उपासना र गुरु गोरखनाथको धुनि जगाउने चतुर्विध यज्ञकर्म पनि सञ्चालन गरिनेछ।
सम्मेलनमा सहभागी हुन आउने बाह्य योग साधकहरूलाई जिल्लाका पर्यटकीय स्थलसहित लुम्बिनी प्रदेशका धार्मिक, ऐतिहासिक र सांस्कृतिक स्थलहरुको अध्ययन भ्रमण गराइने भएको अन्तर्राष्ट्रिय संयोजक भोलानाथ योगीले जानकारी दिए।
योग सम्मेलनले योगको महत्वलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसारसँगै विश्वविद्यालयमा पठनपाठन र अभ्यासका लागि वातावरण निर्माणमा सहयोग पुग्ने नेपाल संस्कृत विश्वविद्यालका कुलसचिव माधव अधिकारी बताए।
नेपाल संस्कृत विश्वविद्यालयको आयोजना तथा पतञ्जलि योग समिति लुम्बिनी प्रदेश, योग युनिभर्सिटी अफ अमेरिका, नेपाल महर्षि वैदिक फाउण्डेसन, रोटरी बैङ्लोर ग्लोबल योग भारत लगायतको सहआयोजनामा तीन दिनसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय योग सम्मेलन अवधिभर यौगिक आहारविहारबारे जानकारी गराउन विभिन्न स्टलहरुको स्थापना, योग र स्वासथ्यसँग सम्वन्धित प्रवचन, स्वास्थ्य शिविर, आयुवैदिक उपचारकर्म र रक्तदानका कार्यक्रमहरु पनि सञ्चालन हुनेछ।
सम्मेलनका लागि विश्वविद्यालयले १३ सदस्यीय मूल समिति र २१ वटा उपसमिति गठन गरिएको छ।



