बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एससिओ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री चीन प्रस्थान

एससिओ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री चीन प्रस्थान

images
२०८२ भाद्र १४ गते, शनिवार
२०८२ भाद्र १४ गते, शनिवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन
    चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन्।

    images

    २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार बिहानै चीनको तियान्जिनतर्फ प्रस्थान गरेका हुन्।

    images

    प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरे।

    प्रधानमन्त्रीको बिदाइका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुगेका थिए। त्यसअघि नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो।

    प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू छन्। 

    प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनुहुने भ्रमणको कार्यतालिकामा उल्लेख छ।

    प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियान्जिनमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ।

    सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ। चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन्।

    अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन्। नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन्।

    प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नेछन्। त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

    शिखर सम्मेलनका क्रममा विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ। प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कनेछन्।


     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend