काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बिरगंजमा फैलिएको हैजा रोगको रोकथाम र नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरीसहितका सुरक्षा निकायलाई चिकित्सक तथा उपकरणसहित परिचालन गरिने बताएका छन्।
प्रतिनिधि सभाको बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिरगंजमा फैलिएको हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा उपकरण सहितको नेपाली सेनासहितका सुरक्षा निकायका चिकित्सक खटाईने बताए।
प्रधानमन्त्री ओलीले आजको मन्त्रिपरिषद्को बैठकले सो सम्बन्धि आवश्यक निर्णय गरेको बताए। बिरगंजमा फैलिएको हैजाको नियन्त्रणमा सुरक्षा निकायको सहयोगले मद्दत पुग्ने प्रधानमन्त्रीको भनाइ थियो।
उनले महामारीबाट तीन जनाको निधन भएकामा दुख व्यक्त गर्दै नियन्त्रणका लागि सरकारकोतर्फबाट सक्दो पहल भइरहेको तथा हैजाको स्रोतको खोजी भइरहेको पनि जानकारी दिए।
प्रधानमन्त्री ओलीले हैजाका बिरामीको उपचार गर्न तथा सचेतनाका प्रबन्धहरू गरिएको उल्लेख गर्दै नारायणी अस्पतालमा निःशुल्क उपचार गरिनुका साथै निजी अस्पतालमा समेत उपचार गरिएको सदनलाई जानकारी दिए।



