काठमाडौं। अछाममा महिनावारी बार्न त्रिपालमा बसेका दुई महिलाकाे ढुंगाले किचेर मृत्यु भएको छ।
पञ्चदेवल विनायक नगरपालिका ८ साेेलापानीस्थित गडा भीर नजिकै सुतिरहेकाे अवस्थामा उनीहरुकाे मृत्यु भएको हाे। मृत्यु हुनेमा ३५ बर्षीया निम खनाल र ७ बर्षीया कविता भण्डारी छन्।
कविताकी आमा रत्ना भण्डारी गम्भीर घाईते छिन्।त्रिपालमा सुतिरहेकाे अवस्थामा शुक्रबार बिहान ३ बजे गडा भीरबाट खसेकाे ढुंगाले किचेपछि उनीहरुकाे मृत्यु भएको र भाग्ने क्रममा रत्ना गम्भीर घाईते भएको वडा नम्बर ८ का अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार टाउकाेमा गहिराे चाेट लागेकी रत्नाकाे थप उपचारका लागि सुर्खेत जिल्ला अस्पताल पठाईएकाे छ।
"उनीहरु महिनावारी बार्न त्रिपाल टाँगेर घरबाट २० मिटर टाढा सुतेका रहेछन्, बच्ची पनि आमा र फूपू सँगै सुत्न गइछिन् राति माथिबाट ढुंगा खसेछ, २ जना चाहिँ भाग्न भ्याएनछन्," वडाध्यक्ष शाहीले एक्सरे नेपालसँग भने।
कविता र निमकाे शव पाेष्टमार्टमका लागि जिल्ला प्रहरीकाे टाेली आइपुगेकाे उनले जानकारी दिए।



