काठमाडौं। जनवरी यता १०३ जनामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका अनुसार देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दो अवस्थामा छ।
शाखाप्रमुख डा अभियान गौतमले जनवरी यता हालसम्म १०३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र २० जनाको मृत्यु भएको जानकारी दिए।
डा गौतमले जापानिज इन्सेफलाइटिसको सङ्क्रमण खोप नलगाएका मानिसमा बढी भेटिएको बताए। उनका अनुसार ७० प्रतिशतभन्दा बढी मृत्यु १५ वर्षभन्दा माथिको उमेर समूहका बिरामीको भएको छ।
सङ्क्रमणबाट झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासीपूर्व, चितवन र नवलपराली पश्चिममा बिरामीको मृत्यु भएको हो ।
स्वास्थ्यकर्मीहरुका अनुसार क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस हुने गर्छ। यसले मस्तिष्कमा गम्भीर सङ्क्रमण भई बिरामीको मृत्यु हुने गरेको छ।



