बिरगंज। बिरगंजमा बुधबारसम्म हैजा संक्रमित अर्थात कोलेरा पोजेटिभ हुने बिरामीको संख्या ११५ पुगेको छ। हैजा देखिएका ३९ जना डिस्चार्ज भएका छन् भने ७६ जना हैजा देखिएकाहरु विभिन्न अस्पतालमा उपचाररत छन्।
यस्तै विभिन्न अस्पतालहरुमा झाडापखाला लागेका २६६ जना बिरामीको उपचार जारी छ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हिजो मंगलबार र आज बुधबार बिहान मात्रै झाडापखालाका ७१ जना नयाँ बिरामी अस्पताल भर्ना भएका छन्। उनीहरुको भने कोलेरा परिक्षण गर्नु पर्ने अवस्था छैन।
तथ्यांकअनुसार बुधबार बिहानसम्म बिरगंजमा झाडापखाला लागेका कुल ४९३ जनाको विभिन्न अस्पतालमा उपचार भएको तथ्यांक छ। त्यसमध्ये २२७ जना झाडापखाला लागेका बिरामी उपचारपछि डिस्चार्ज भएर फर्किएका छन्। उनीहरुमा कोलेरा छैन।
यस्तै ३८ जनाको आइसीयुमा उपचार जारी छ भने ३ जना एचडीयुमा उपचाररत छन्। यस्तै विभिन्न अस्पतालका वार्डमा मात्रै २२५ जनाको उपचार जारी छ। यो संख्या २६६ जना भित्रकै हो।




