बिरगंज। केही दिनयता बिरगंजमा हैजा प्रकोपले समुदायलाई आक्रन्त पारिरहेको छ। मंगलबार बिहानसम्म बिरगंजमा हैजाका ९५ जना बिरामी पुष्टि भइसकेका छन्।
बिरगंजमा हैजा रोकथाम तथा नियन्त्रणका लागि सरकारी तथा निजी क्षेत्रबाट प्रयास भइरहेको छ। हैजा प्रकोप नियन्त्रणमा सरकारी प्रयासमा यहाँका निजी अस्पतालहरुले पनि साथ दिइरहेका छन्। हैजा नियन्त्रणका लागि यहाँका निजी अस्पतालहरुले आवश्यकताअनुसार बेड र जनशक्ति नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता नै जनाएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार बिरगंज पुगेर समुदायस्तरमा फैलिएको हैजा प्रकोपलाई नियन्त्रणमा लिनका लागि सरकारलाई निजी अस्पतालहरुले पनि सघाउनु पर्ने बताएका थिए। यस्तै उनले नागरिकको उपचारका लागि महामारीको समयमा नाफाभन्दा माथि उठेर सेवाको भावना बाट सोच्न निजी अस्पतालका संचालकहरुलाई आग्रहसमेत गरेका थिए।
त्यसपछि बिरगंज महानगरपालिकामा सोमबार साँझ बसेको बैठकका क्रममा निजी अस्पतालका सञ्चालकहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।
छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन , युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, महानगर स्वास्थ्य शाखाका प्रतिनिधि तथा निजी अस्पतालका सञ्चालकहरू सहभागी थिए।
सो छलफलका क्रममा महानगर प्रमुख राजेशमान सिंहले बिरगंजमा फैलिएको महामारी नियन्त्रणमा निजी स्वास्थ्य संस्थाको सक्रिय भूमिका अपरिहार्य हुने बताउँदै बिरामीलाई सहज उपचार उपलब्ध गराउन आग्रह गरे।
छलफलमा प्रकोप नियन्त्रणका लागि तत्काल कदम चाल्ने, औषधि तथा शुद्ध पानीको आपूर्ति सुनिश्चित गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर प्रभावित क्षेत्रमा परिचालन गर्ने र सचेतना अभियानलाई तीव्र पार्ने सहमति भएको थियो।
नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासले विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार उपचार पद्धति अपनाए हैज्क्क महामारीलाई नियन्त्रणमा राख्न सहज हुने बताए।
त्यस्तै, पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले महामारी नियन्त्रणमा सरकारी र निजी दुवै अस्पतालको समान जिम्मेवारी रहने उल्लेख गर्दै, आवश्यक नपर्दा पनि जबरजस्ती आइसीयुमा बिरामी राखेर आर्थिक लाभ उठाउने गलत प्रवृत्ति रोकिनु पर्ने बताए।
उनले औषधि उपलब्धता र गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै अन्य स्थानीय तहलाई पनि अग्रिम तयारीमा जुट्न निर्देशन दिए।
स्वास्थ्य विज्ञहरूले हाल हैजाका बिरामीहरूको सङ्ख्या क्रमशः घट्दो अवस्थामा रहेको भए पनि सबै पक्षको हातेमालो र सहकार्यबाट मात्र महामारी नियन्त्रण सम्भव हुने बताएका छन्।
बिरगंजमा सरकारी अस्पताल नारायणी अस्पताल बाहेक तराई अस्पताल, भवानी अस्पताल, बिरगंज हेल्थ केयर, अलि अर्थो अस्पताल, नेशनल मेडिकल कलेज, मंगलम फार्मेसी, नारायणी सेन्ट्रल हस्पिटल, एड्भान्स हस्पिटल, आशाराम हस्पिटल लगायतमा हैजाका बिरामीको उपचार जारी छ।



