काठमाडौँ। आफ्नो गृह जिल्लामा हैजा समुदायस्तरमा नै फैलिएपछि खानेपानी मन्त्री प्रदीप यादवले रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको साथ मागेका छन्।
बिरगंज हालको मन्त्रीपरिषदमा खानेपानी मन्त्री रहेका यादवको गृह जिल्ला र निर्वाचन क्षेत्रसमेत पर्छ। उनी पुर्व स्वास्थ्यमन्त्री समेत हुन्।
अहिले उनकै गृह नगरमा हैजा फैलिएपछि उनी शनिबारदेखि नै दौडधुपमा छन्। सो क्रममा यादवले आइतबार स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री पौडेलसँग हैजा सङ्क्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल गरेका हुन्।
मन्त्री यादवले स्वास्थ्यमन्त्री पौडेलसँग भेट गरी बिरगंजमा देखिएको हैजा सङ्क्रमणका सम्बन्धमा ध्यानाकर्षण गराउँदै विस्तृत छलफल गरेको यादवको सचिवालयले जनाएको छ।
छलफलका क्रममा बिरगंजका प्रभावित क्षेत्रमा कोलेरा किट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा सङ्क्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, प्राइभेट अस्पतालहरूमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने र आवश्यक थप मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट तथा नर्सलगायतको जनशक्ति तत्काल परिचालन गर्ने सहमति भएको खानेपानी मन्त्री यादवले जानकारी दिए।
स्वास्थ्यमन्त्री पौडेलसँगको भेटपछि मन्त्री यादवले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘हैजा नियन्त्रणका लागि केन्द्र र स्थानीय सरकारबिच घनिष्ठ समन्वय गर्दै आवश्यक सबै कदमहरू तत्काल लागू गर्ने निर्णय गरिएको छ।
बिरगंज महानगरपालिकाका विभिन्न वडा र टोलहरूमा देखापरेको हैजा सङ्क्रमण नियन्त्रणका लागि आफ्नो प्रयास अविच्छिन्न रूपमा जारी रहेको पनि भनेका छन्।
‘बिरगंजमा फैलिरहेको हैजा नियन्त्रणका लागि हामी पूर्ण रूपमा सक्रिय छौँ। यस कार्यमा सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज र स्थानीय समुदायको सहकार्य अपरिहार्य रहेको हुँदा सबैलाई साथ र सहयोगका लागि हार्दिक अनुरोध गर्दछु।´ खानेपानी मन्त्री यादवले भनेका छन्।
उनी आइतबार नै बिरगंजको हैजा प्रभावित क्षेत्रमा पुगेर प्रभावित क्षेत्रको अनुगमनमा पुगेका थिए। यस्तै उनको उपस्थितिमा खानेपानी र ढल ब्यवस्थापन विभागबाट मोबाइल टोली परिचालन गरेर पानी परिक्षण र शुद्धिकरण अभियान सुरु गराइएको छ।



