बिरगंज। पर्सा जिल्लाको सदरमुकाम बिरगंजमा हैजाले जनजीवन झनै आक्रान्त बन्दै गएको छ। आइतबार रातिसम्म ७१ जनामा हैजा पुष्टि भएको छ। यस्तै २२ जना हैजाका बिरामी आइसीयुमा उपचाररत छन्।
गत साउन २८ गते सामान्य रुपमा देखापरेको झाडापखालाले अहिले बिरगंजवासीलाई त्रसित बनाएको छ। गत शुक्रबार झाडापखाला लागेका ५ जनामा हैजा (कोलेरा) पुष्टि भएकोमा शनिबार कोलेरा पुष्टि हुनेको संख्या ३९ पुगेको थियो। आइतबार बिहान यो संख्या ४२ पुग्दा आइतबार नै साँझसम्म ७१ जनामा पुष्टि भइसकेको छ।
बिरगंज महानगरपालिकाको वडा नम्बर ११, १२, १३, १४ र १६ मा हैजा फैलिएको छ। यस्तै पर्सा जिल्लाको पोखरीया नगरपालिकामा पनि हैजा पुष्टि भएको छ। सुरुमा बिरगंजको मुर्लीस्थित नयाँ टोलमा हैजा पुष्टि भएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका फोकल पर्सन जैमद ठाकुरका अनुसार शनिबार राती पौने नौ बजेसम्म बिरगंजमा ३९ जनामा कोलेरा संक्रमण (हैजा) पुष्टि भएकोमा आइतबार रातीसम्म ७१ जनामा कोलेरा पुष्टि भइसकेको छ।
`शनिबार रातीसम्म ३९ जनामा कोलेरा पुष्टि भएकोमा आइतबार बिहानसम्म विभिन्न अस्पतालमा ४२ जनामा कोलेरा पुष्टि भएको थियो, आइतबार रातिसम्म ७१ जनामा कोलेरा पुष्टि भएको छ। अस्पतालबाट बिरामी आउने जाने भइरहेकाले यो संख्या केही तलमाथि हुन सक्छ।´ ठाकुरले एक्सरे नेपालसँग भने।
ठाकुरका अनुसार हैजा पुष्टि भएका मध्ये २२ जनाको विभिन्न अस्पतालको आइसीयुमा तथा ६ जनाको एचडीसीयुमा उपचार जारी छ।
बिरगंजमा दुई सय हाराहारीको संख्यामा झाडापखालाका बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्। सबैमा कोलेराको लक्षण उस्तै छ।
बिरगंज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु साहका अनुसार बिरगंजको तराइ अस्पतालमा उपचारमा आएका बिरामीबाट सुरुमा कोलेरा पुष्टि भएको थियो। त्यसपछि अन्य ब्यक्तिमा समेत कोलेरा देखिएको उनी बताउँछन्।
`सुरुमा संकास्पद बिरामी आउँदै उपचार गर्दै फर्कँदै गरेछन, पछि कोलेरा पुष्टि भएपछि अस्पतालले महानगरमा जानकारी गरायो, त्यसपछि लगातार संक्रमित बढेको अवस्था छ।´ साहले भने।
बिरगंज महानगरपालिकाले हैजा देखिएका बिरामीको उपचारमा कुनै कमी नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ। यस्तै महानगरले समुदायस्तरमा पनि शुक्रबार बाट नै स्वास्थ्य टोली खटाएको छ।
महानगरले प्रभावित क्षेत्रमा तत्कालीन अवस्थामा नै २५ वटा स्वास्थ्य टोली परिचालन गरेको छ। स्वास्थ्य टोलीले प्रभावित क्षेत्रका घरघरमै पुगेर पानी शुद्धिकरणका उपायहरू सिकाउँदै, क्लोरिन हालेर मात्रै पिउन आग्रह गर्दै जनचेतना जगाइरहेका छन्। साथै प्रभावित बस्तीका नालामा औषधि छर्कने अभियान पनि सञ्चालन भइरहेको छ।
हैजाको संक्रमणलाई नियन्त्रणमा राख्न भन्दै महानगरपालिकाले बिरगंज भित्रका निजी तथा सामुदायिक विद्यालय दुई दिनका लागि बन्द गराएको छ भने बिरगंजमा पानीपुरी तथा चाटको विक्री पुर्ण रुपमा बन्द गरिएको छ।



