बिरगंज। पर्सा जिल्लाको सदरमुकाम बिरगंजमा झाडापखाला (हैजा)ले जनजीवन आक्रान्त बनाएको छ। गत साउन २८ गते सामान्य रुपमा देखापरेको झाडापखाला अहिले व्यापक रुपमा फैलदै गएको छ। शुक्रबार ५ जनामा कोलेरा पुष्टि भएकोमा शनिबार कोलेरा पुष्टि हुनेको संख्या ३९ पुगेको थियो। आइतबार बिहान यो संख्या ४२ पुगिसकेको छ।
बिरगंज महानगरपालिकाको वडा नम्बर ११, १२, १३, १४ र १६ मा हैजा फैलिएको छ। यस्तै पर्सा जिल्लाको पोखरीया नगरपालिकामा पनि हैजा पुष्टि भएको छ। सुरुमा बिरगंजको मुर्लीस्थित नयाँ टोलमा हैजा पुष्टि भएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका फोकल पर्सन जैमद ठाकुरका अनुसार आइतबार बिहान्सम्म बिरगंजमा ४२ जनामा कोलेरा संक्रमण (हैजा) पुष्टि भइसकेको छ।
`आइतबार बिहानसम्म विभिन्न अस्पतालमा ४२ जनामा कोलेरा पुष्टि भएको छ, १२९ जना विभिन्न अस्पतालमा उपचाररत छन्, अझै केही अस्पतालबाट सुचना आइरहेको छ, यो संख्या बढ्न सक्छ, सबैमा कोलेराको लक्षण उस्तै छ।´ ठाकुरले भने।
बिरगंज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु साहका अनुसार बिरगंजको तराइ अस्पतालमा उपचारमा आएका बिरामीबाट सुरुमा कोलेरा पुष्टि भएको थियो। त्यसपछि अन्य ब्यक्तिमा समेत कोलेरा देखिएको उनी बताउँछन्।
`सुरुमा संकास्पद बिरामी आउँदै उपचार गर्दै फर्कँदै गरेछन, पछि कोलेरा पुष्टि भएपछि अस्पतालले महानगरमा जानकारी गरायो, त्यसपछि लगातार संक्रमित बढेको अवस्था छ।´ साहले भने।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले समुदायमा कोलेरा फैलिसकेको अवस्था रहेकाले नियन्त्रणका लागि सबैसँग समन्वय गने काम भइ रहेको जानकारी दिए।
`कोलेरा समुदायमा फैलिएको भन्ने पुष्टि भएको छ, संक्रमणलाई कसरी नियन्त्रणमा राख्ने भनेर बिरगंजमा जनस्तरमा जनचेतनामूलक अभियान नै सुरु गरिसकेका छौं।´ सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले एक्सरे नेपालसँग भने।
बिरगंज महानगरपालिकाले हैजा देखिएका बिरामीको उपचारमा कुनै कमी नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ। यस्तै महानगरले समुदायस्तरमा पनि शुक्रबार बाट नै स्वास्थ्य टोली खटाएको छ।
महानगरले प्रभावित क्षेत्रमा तत्कालीन अवस्थामा नै २५ वटा स्वास्थ्य टोली परिचालन गरेको प्रेस संयोजक नवराज फुँयालले जानकारी दिए। स्वास्थ्य टोलीले प्रभावित क्षेत्रका घरघरमै पुगेर पानी शुद्धिकरणका उपायहरू सिकाउँदै, क्लोरिन हालेर मात्रै पिउन आग्रह गर्दै जनचेतना जगाइरहेका छन्। साथै प्रभावित बस्तीका नालामा औषधि छर्कने अभियान पनि सञ्चालन भइरहेको छ।



