बिरगंज। गत साउन २८ गतेपछि बिरगंजका अस्पतालमा छिटपुट रुपमा झाडापखालाका बिरामीहरू उपचारका लागि आउन सुरु गरे। अस्पतालका चिकित्सकहरुले सामान्य रुपमा नै उपचार सुरु गरे। तर जब झाडापखालाका बिरामीहरु आउनेक्रम झनै बढ्न थाल्यो तब नमुना परिक्षण गरियो। बिरगंजको तराइ अस्पतालमा झाडापखाला लागेर उपचारमा आएका बिरामीमा कोलेरा (हैजा) पुष्टि भयो।
बिरगंज महानगरपालिकालाई त्यसपछि खबर पुग्यो,`झाडापखालाका बिरामी उपचारका लागि आइरहेका थिए, हैजा रहेछ।´ यो जानकारी बिरगंज महानगरपालिकाले गत बिहीबार मात्रै पाएको थियो।
बिरगंज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु साहका अनुसार हैजाका संक्रमित पुष्टि भएपछि अस्पताल आएका अन्य बिरामीहरुलाई पनि परिक्षण गर्दा हैजा पुष्टि भएको हो। यो संख्या शनिबार राती यो समाचार तयार पार्दा सम्म बिरगंजमा ३९ पुगिसकेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका फोकल पर्सन जैमद ठाकुरका अनुसार दुई सय भन्दा बढी झाडापखालाका बिरामीको बिरगंजका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यसमध्येमा ३९ जनामा कोलेरा पुष्टि भएको छ। अन्य बिरामीमा पनि लक्षण उस्तै छ।
बिरगंजमा झाडापखाला लागेकै कारण तीन जनाको मृत्यु भएको भनिएको छ। तर सो बारे आधिकारिक रुपमा पुष्टि नभएको जनस्वास्थ्य कार्यालय पर्साका फोकल पर्सन ठाकुर बताउँछन्।
`उहाँहरुलाई पनि झाडापखाला लागेको थियो भन्ने सुनेको हुँ, तर परिक्षण नहुँदै अस्पताल ल्याउने बित्तिकै मृत्यु भएको रहेछ, कोलेरा जाँच भएको थिएन, हैजानै मृत्युको कारण हो भन्न सकिएन।´ ठाकुरले एक्सरे नेपालसँग भने।
मृत्यु हुनेहरु पोखरिया नगरपालिका र बिरगंज महानगरपालिकाका स्थानीय रहेको बताइएको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले पनि हैजाकै कारण उनीहरुको मृत्यु भएको जानकारी नभएको बताए।
बिरगंज महानगरपालिकाको वडा नम्बर ११, १२, १३, १४ र १६ मा हैजा फैलिएको छ। यस्तै पर्सा जिल्लाको पोखरीया नगरपालिकामा पनि हैजा पुष्टि भएको छ। सुरुमा बिरगंजको मुर्लीस्थित नयाँ टोलमा हैजा पुष्टि भएको थियो।
झाडापखाला लागेर अस्पताल पुर्याइएकी पोखरिया–९ निवासी १९ वर्षीया युवतीको बिरगंज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी बिरगंज बसेर पढ्दै आएकी थिइन्।
यस्तै बिरगंज–१६ निवासी ३७ वर्षीय पुरुषको नारायणी अस्पतालमा र मुर्ली निवासी २२ वर्षीय युवकको तराई अस्पतालमा मृत्यु भएको बताइएको छ। तर उनीहरू कसैको पनि मृत्युको कारण हैजा नै हो भन्ने यकिन भएको छैन।
बिरगंज हेल्थ केयर अस्पतालका सञ्चालक डा. अबुलहैस अंसारीले भने एक दिनमै झाडा पखालाबाट युवतीको मृत्यु हुनु अस्वाभाविक भएको भन्दै कोलेरा परिक्षण नभएपनि मृत्युको कारण हैजा नै हुनसक्ने बताए।



