बिरगंज। पर्सा जिल्लाको सदरमुकाम बिरगंजमा झाडापखाला (हैजा) ले जनजीवन आक्रान्त बनाएको छ। गत साउन २८ गते सामान्य रुपमा देखापरेको झाडापखाला अहिले व्यापक रुपमा फैलदै गएको छ।
बिरगंज महानगरपालिकाको वडा नम्बर ११, १२, १३, १४ र १६ मा हैजा फैलिएको छ। यस्तै पर्सा जिल्लाको पोखरीया नगरपालिकामा पनि हैजा पुष्टि भएको छ। सुरुमा बिरगंजको मुर्लीस्थित नयाँ टोलमा हैजा पुष्टि भएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका फोकल पर्सन जैमद ठाकुरका अनुसार शनिबार राती पौने नौ बजेसम्म बिरगंजमा ३९ जनामा कोलेरा संक्रमण पुष्टि भइसकेको छ।
`उपचारमा आएका मध्ये ३९ जनामा कोलेरा पुष्टि भइसकेको छ, दुई सय भन्दा बढी झाडापखालाका बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्, सबैमा कोलेराको लक्षण उस्तै छ, सबैलाई उपचार सुरु गरिसकेका छौं।´ ठाकुरले भने।
बिरगंज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजु साहका अनुसार बिरगंजको तराइ अस्पतालमा उपचारमा आएका बिरामीबाट सुरुमा कोलेरा पुष्टि भएको हो। त्यसपछि अन्य ब्यक्तिमा समेत कोलेरा देखिएको उनी बताउँछन्।
`सुरुमा संकास्पद बिरामी आउँदै उपचार गर्दै फर्कँदै गरेछन, पछि कोलेरा पुष्टि भएपछि अस्पतालले महानगरमा जानकारी गरायो, त्यसपछि लगातार संक्रमित बढेको अवस्था छ।´ साहले भने।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले समुदायमा कोलेरा फैलिसकेको अवस्था रहेकाले नियन्त्रणका लागि सबैसँग समन्वय गर्ने काम भइरहेको जानकारी दिए।
`कोलेरा समुदायमा फैलिएको भन्ने पुष्टि भएको छ, संक्रमणलाई कसरी नियन्त्रणमा राख्ने भनेर हामीले प्रयास सुरु गरिसकेका छौं, जनस्तरमा नै अब सचेतनामुलक अभियान चलाउने गरेर तयारी गरिएको छ।´ सहायक प्रमुख जिल्ला अधिकारी कार्कीले एक्सरे नेपालसँग भने।
नारायणी अस्पताल बिरगंजका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा. चुमन लाल दासले नारायणी अस्पतालमा मात्र ११ जना कोलेरा (हैजा) संक्रमण पुष्टि भएको बताए। उनका अनुसार ३५ जना उपचारका लागि अस्पतालमा आएका छन्। सबैमा कोलेराको संक्रमण देखिएको छ तर परीक्षण ११ जनाको नमुना लिएर गरिएको छ।
`३५ जना उपचारका लागि आएकोमा ११ जनामा कोलेरा पुष्टि भएको छ, सबैको एउटै लक्षण छ, सबैमा कोलेरा छ भन्ने हो, सबैको आवश्यक उपचारमा हामी अघि बढी सक्यौं।´ डा. दासले एक्सरे नेपालसँग भने।
बेड अभाव, एमर्जेन्सीमा भुइँमा बिरामी
नारायणी अस्पतालमा झाडापखालाका बिरामीको चाप एकाएक बढेपछि बेड अभाव भएको छ। बिरामीको चाप बढेपछि आकस्मिक कक्षमा भुइँमा नै बिरामीलाई सुताइएको डा. दास बताउँछन।
`भएको बेड प्याक भयो, अहिले भुइँमा नै बिरामीलाई म्याट्रेस राखेर सुताएर उपचार थालेका छौं,१२ वटा इन्डोर बेड बनाएका छौं, त्यो पनि प्याक भयो, अन्य स्थानमा पनि बेडको प्रवन्ध गर्दैछौं।´ नारायणी अस्पतालका मेसु डा. दासले भने।
हाइ अलर्टमा बिरगंज
बिरगंजमा हैजा संक्रमण पुष्टि भएपछि बिरगंज महानगरपालिकाले महानगर भित्र रहेका अस्पतालहरुलाई हाइ अलर्टमा राखेको छ।
बिरगंज महानगरपालिकाका प्रेस सल्लाहकार नवराज फुँयालका अनुसार महानगर भित्रका सबै अस्पतालका संचालक र प्रमुखलाई बोलाएर बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिइएको छ।
`बिरगंजमा हैजा संक्रमण पुष्टि भएपछि बिरगंज महानगरपालिकाले महानगर भित्र रहेका अस्पतालहरुलाई हाइ अलर्टमा राखेका छौं, बिरामीको उपचारमा कुनै कमी नगर्न भनेका छौं, समुदायस्तरमा पनि शुक्रबार बाट नै महानगरले स्वास्थ्य टोली खटाएको छ।´ फुँयालले भने।
महानगरले प्रभावित क्षेत्रमा तत्कालीन अवस्थामा नै २५ वटा स्वास्थ्य टोली परिचालन गरेको छ। टोलीहरूले घरघरमै पुगेर पानी शुद्धिकरणका उपायहरू सिकाउँदै, क्लोरिन हालेर मात्रै पिउन आग्रह गर्दै जनचेतना जगाइरहेका छन्। साथै प्रभावित बस्तीका नालामा औषधि छर्कने अभियान पनि सञ्चालन भइरहेको छ।



