काठमाण्डौं। बितेका तीन दशकमा माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु र २ हजार ८ सय ९९ जना घाइते भएका छन्।
शुक्रबार राष्ट्रिय सभामा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिंदै गृहमन्त्री रमेश लेखकले तीन दशकमा माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु र २ हजार ८ सय ९९ जना घाइते भएको बताए।
आफुले प्रस्तुत गरेको तथ्यांक प्रहरीको रहेको लेखकले जानकारी दिएका हुन्। उनका अनुसार २०५२ सालदेखि २०८२ को असारसम्मको सो तथ्यांक हो।
“द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको छ।” गृहमन्त्री लेखकले भने।
उनले अघि भने, “घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको, टुहुरा बालबालिकाहरुका लागि १८ वर्षसम्म मासिक ५ हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका आधारमा मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालय मार्फत प्रदान गरिँदै आएको छ।”
साथै परिपूरण सम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम सरकारको निर्णय बमोजिम हुने गरेको समेत लेखकले राष्ट्रिय सभामा जानकारी गराएका हुन्।



