काठमाडौं। दातृ संस्थाबाट लुब्रिकेन्ट र प्रि–एक्सपोजर प्रोफाइलेक्सिस (प्रेप) को सहयोग बन्द हुँदा ती वस्तुको अभाव भएको छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरु लुब्रिकेन्ट र प्रेपको अभाव हुँदा अन्योलमा छन्।
युएसएआइडीमार्फत पेपफार (PEPFAR) को सहयोगमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले एचआईभी सेवामा लुब्रिकेन्ट र प्रि–एक्सपोजर प्रोफाइलेक्सिस (प्रेप) पाउँदै आएका थिए।
तर सहयोग कटौती भएपछि अभाव हुँदै आइरहेको छ। एफएचआई३६० ले विभिन्न सेन्टरहरू मार्फत लुब्रिकेन्ट र प्रेप उपलब्ध गराउँदै आएको थियो।
नील हिरा समाजले काठमाडौंमा आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि एचआईभी सेवामा विद्यमान अभाव पहिचान र सम्बोधन’ विषयक राष्ट्रिय परामर्श बैठकमा सरोकारवालाहरुले लुब्रिकेन्ट र प्रि–एक्सपोजर प्रोफाइलेक्सिस (प्रेप) नपाइएको गुनासो गरेपछि यो विषय सार्वजनिक भएको हो।
सरकारले एआरटी सेन्टरमा कण्डम वितरण गरे पनि लुब्रिकेन्ट र प्रेप खरिद नगर्दा दाताले उपलब्ध गराएमात्रै वितरण गर्ने गरिएको छ। लुब्रिकेन्ट र प्रेप खरिदलाई सरकारले आफ्नो दायित्व भित्र नपार्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले समस्या भोग्नु परिरहेको छ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले सरकारले कण्डम किन्ने तर लुब्रिकेन्ट र प्रेप खरिद गर्ने विषय राज्यको दायित्वभित्र नपरेका कारण दाताको सहयोग रोकिंदा केही समययता समस्या परेको बताए।
‘केही महिनादेखि सेवामा समस्या देखिएको छ, एआरटी सेन्टरमा सरकारले कण्डम वितरण गरे पनि लुब्रिकेन्ट र प्रेप खरिद गर्ने विषय राज्यको दायित्वभित्र परेको छैन, युएसएआइडीको सहयोग बन्द हुँदा लुब्रिकेन्ट र प्रेपको अभाव भएको हो, कण्डममा भने समस्या छैन।’ केन्द्रका निर्देशक डा शर्माले भने।
शर्माले समस्याको समाधानका लागि सरकारको एकल प्रयासले मात्र नपुग्ने भन्दै सबै सरोकारवालाहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताए। एनले दाताले सहयोग रोक्दा वा बन्द गर्दा असहज हुने अवस्थाको अन्त्यका लागि सोच्नु पर्ने स्पष्ट पारे।
कार्यक्रममा धारणा राख्दै एसिया प्यासिफिक कोलिसन अन मेल सेक्सुअल हेल्थ (एपकम), बैंककका वरिष्ठ अनुसन्धान तथा नीति अधिकारी नुमान अफिफीले एचआईभी प्रतिकार्यका लागि कोषको कमी क्षेत्रीय स्तरमा ठूलो चुनौती बनेको बताए। उनले नील हिरा समाजसँग बैंककमा नोभेम्बरमा आयोजना हुने वार्षिक समुदाय शिखर सम्मेलनमा सहकार्य सम्वन्धि घोषणा हुने पनि बताए।
‘हामी थाइल्याण्डदेखि नेपालसम्मका सफलताहरूमा आधारित भएर साझेदारीको नयाँ अध्याय सुरु गर्न प्रयासरत छौं, नील हिरा समाजसँग बैंककमा नोभेम्बरमा आयोजना हुने वार्षिक समुदाय शिखर सम्मेलनमा सहकार्य सम्वन्धि घोषणा हुनेछ।’ उनले भने।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन (युएनडिपी) की प्रतिनिधि बिन्दा मगरले युएसएआइडीको रोकिएको सहयोगलाई पूर्ति गर्ने विषयमा छलफल भइरहेको बताइन्। उनले ग्लोबल फन्डको बैठकमा सो विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरिन्।
एएचएफ नेपालका राष्ट्रिय संयोजक दिब्यराज जोशीले लैङ्गिक पहिचानकै आधारमा सेवामा अवरोध गरिनु अपराध भएको बताए।
कर्यक्रममा नील हिरा समाजकी निर्देशक मनिषा ढकालले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले पाउँदै आएको सेवामा चरम अभाव देखिएको बताउँदै भविष्यमा ठूलो समस्या आउन सक्ने बताइन्।
‘हामी कठिन परिस्थितिबाट गुज्रिरहेका छौं, लुब्रिकेन्ट, प्रेप र कण्डमको अभावले भविष्यमा ठूलो समस्या आउन सक्छ।´ उनले भनिन्।
समुदायका व्यक्तिहरुले एआरटी सेन्टरमासमेत सहजै सेवा लिन समस्या भोग्दै आएको बताउँदै स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी सेन्टरको क्षमता विस्तार गर्नु पने बताइन्।
उनले विगत ८ महिनादेखि परिक्षणसमेत नभएको बताउँदै संक्रमितहरू कहाँ जाने भन्नेमा अलमलमा रहेको पनि दाबी गरिन्।
‘अहिले लुब्रिकेन्ट र प्रेपको चरम अभाव छ, हाम्रो समुदायले यी सामग्री सहजै पाउन सकेका छैनन्, कसैले सहयोग रोकेकै आधारमा हाम्रा काम रोकिनु हुँदैन, जटिल परिस्थितिमा पनि अगाडि बढ्ने रणनीति तय हुनुपर्छ।’ ढकालले भनिन्।
एचआईभी र अन्य यौनजन्य रोगको संक्रमणबाट जोगिन कण्डमको प्रयोग गर्ने गरिएको छ भने लुब्रिकेन्टको प्रयोग हुँदा एचआईभी संक्रमणबाट जोगिनुका साथै घर्षण कम गरी छालालाई सहयोग पुग्दछ। यस्तै प्रेपलाई शरीरमा एचआईभी फैलनबाट रोक्ने प्रभावकारी औषधि मानिन्छ।



