बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्य शिक्षाको पाठ्यक्रम परिमार्जन प्रतिवेदन तयार, पाठ्यक्रम विकास केन्द्रलाई बुझाइयो

स्वास्थ्य शिक्षाको पाठ्यक्रम परिमार्जन प्रतिवेदन तयार, पाठ्यक्रम विकास केन्द्रलाई बुझाइयो

images
२०८२ भाद्र ३ गते, मंगलवार
२०८२ भाद्र ३ गते, मंगलवार
  • काठमाडौं।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानुकूल, वैज्ञानिक र प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जनका लागि समीक्षा प्रतिवेदन तयार गरेर पाठ्यक्रम विकास केन्द्रलाई बुझाएको छ।  

    images

    मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा उक्त प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेललाई हस्तान्तरण गरिएको हो। स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले उक्त प्रतिवेदन तयार पारेको थियो। 

    images

    प्रतिवेदनले कक्षा १ देखि १२ सम्मको वर्तमान स्वास्थ्य पाठ्यक्रमको विस्तृत समीक्षा गर्दै बदलिँदो जीवनशैली, स्वास्थ्य चुनौती र राष्ट्रिय स्वास्थ्य नीतिहरूलाई समेट्ने गरी पाठ्यक्रममा सुधारका लागि सुझावहरू सिफारिस गरेको छ।
    कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकलाई स्वस्थ जीवनशैलीको बानी विकास गर्ने पहिलो आधार र जग विद्यालय शिक्षा भएको बताउँदै स्वास्थ्य र शिक्षा मन्त्रालयबीचको समन्वयले दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

    “स्वास्थ्य केवल अस्पतालमा उपचार गर्ने विषय मात्र होइन, यो हरेक घर र विद्यालयबाट सुरु हुने चेतना हो। हाम्रा बालबालिकालाई सानै उमेरदेखि सही स्वास्थ्य जानकारी दियौं भने उनीहरू आफ्नो र आफ्नो परिवारको मात्र होइन, सिंगो समाजकै स्वास्थ्यका लागि ‘चेन्ज एजेन्ट’ बन्न सक्छन्,” मन्त्री पौडेलले भने, “शिक्षा मन्त्रालयसँगको यो समन्वयले स्वस्थ र जिम्मेवार नागरिक बनाउने हाम्रो राष्ट्रिय लक्ष्यमा महत्वपूर्ण योगदान पुऱ्याउनेछ।”

    प्रतिवेदन ग्रहण गर्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले स्वास्थ्य मन्त्रालयको अग्रसरताको प्रशंसा गरे। 

    “स्वास्थ्य जस्तो प्राविधिक र संवेदनशील विषयमा सम्बन्धित मन्त्रालयबाटै प्राप्त भएका सुझावहरू हाम्रा लागि अत्यन्त मूल्यवान छन्,” उनले भने।

    स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य शिक्षाको पाठ्यक्रम समयानुकुल बनाउने गरी परिमार्जन गर्नका लागि उनी मन्त्री भएदेखि नै पहल कदमी लिंदै आएका थिए। उनले यसअघिकी शिक्षामन्त्री विद्या भट्टराईसँगसमेत सो विषयमा पटकपटक छलफल गर्दै अघि बढेका थिए। 

    प्रतिवेदन तयारीका क्रममा स्वास्थ्य तथा शिक्षा मन्त्रालयका विभिन्न निकाय, विश्वविद्यालय, अभिभावक महासंघ, युनिसेफ लगायतका संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग समेत राय–सुझाव संकलन गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशव राज पण्डितले  जानकारी दिए।

    कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक र युनिसेफका प्रतिनिधिको समेत सहभागी थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend